
शहरमा म ठिक छु ।
सुविन श्रेष्ठ
मनले भुल्न सकेका छैनन् त्यो रमाईलो जमघट अनि स्वतन्त्रताहरु । त्यो स्वतन्त्रता शहरमा छैन । यहाँ सर्वत्र बन्धित जालोहरु छन् । अनि एकअर्कामा थाहै नपाई बाँधिदै गईरहेका छन् शहरवासीहरु । मेरो स्वतन्त्रता यहाँनिर हरण भएको छ । अर्थात म पनि बाँधिन पुगेको छु । यो समयको माग पनि हो । समय अटल र निरन्तर बगेको छ । आज उसको वेगले काठमाडौंबाट चार किमी पर ललितपुर खाल्डोमा जकडिएको पनि सयदिन पुगेछ ।
बिदेशी हावा र धरातलबाट आफुलाई एयरलान्सले स्वदेशी भुमिमा खसाल्दा म निकैबेर स्तब्ध भएको थिए । सासविहिनको महसुस गरे । त्यही माटो जहाँ म जन्मे र हुर्किए उनलाई निकैबेर हातले सुमसुम्याएँ । स्वदेशबाट बाहिर रहँदापनि स्वदेशलाई परेको पीडा र समस्याबाट म जानकार नै थिए ।
स्वदेशको हवाईभुमि छोडेर बाहिरिदाँ देशको माहौल म देखेर खुशी भएको रहेनछ । किनभने पुरै अँध्यारो साम्राज्यमा देश सुतिसकेको थियो । घडिको सुँईले भर्खरै ७ बजाउँदै थियो । यसलाई सामान्य मानेको थिए । तर यो असामान्य साबित भयो । प्रत्येक दिन १८ घण्टा अँध्यारो माहौलले दिउँसो नै भित्री गल्लीका कोठाहरु रातै पर्ने । सुर्यको उपस्थितीले दिन चलेको छ नत्र दिउँसै एकले अर्कालाई चिन्दैनन् होला । शहरको यही अवस्थामा आत्मसात गर्दे दिनहरु काटिरहे । महिना बित्यो र भोलीको दिन मेरो बँसाई सय दिन पुग्दैछ ।
शहर पसेको महिनादिन नबित्दै म व्याकूल बनेको थिए । यहाँको परिवेश र वातावरणको रन्कोमा नमजाले उकुसमूकुस बने । मैलै त्यो पलका दृश्यमा लेखे । मेरो स्वदेश म फेरि तिम्रो छातीको बहुपासबाट टाढा हुन चाहन्न । तर यो परिस्थितीको सामना कसरी गँरु । मन एकाएक निराश पनि बने अनि मष्तिकमा मित्रहरुका विचारहरु पनि खेले । ‘तँपाई देशमा केही गर्न सक्नुहुन्न । त्यस्तो देशमा बसेर के गर्नुहुन्छ ? अहिले देश खतम भएको छ ।’ म र मेरै आत्मा थियो ती कुराहरुमा रतिभरपनि ध्यान दिईन । किनभने मसँग आत्मविश्वास अनि प्रयासका चरणहरु साक्षी थिए । म त बश फर्किन चाहन्छु र फर्किन्छु । तँपाईहरुका सल्लाहका लागि आभारी छु भन्दै मित्रहरुका जमघटलाई दिएको अन्तिम भोजमा भनेकै थिए । ती दृश्यहरु भन्दा पनि उनीहरुका अधुरा शब्द बोलीहरु याद बनेर मनमा खेलिरहेका छन् यतिखेर ।
विदेश बँसाईमा सयौ मित्रहरु साथी भए । त्यही भिडमा दर्जनौले मेरो अन्तिम निष्कर्षलाई आत्मसात गर्दे भनेका थिए । ‘विदेश बस्ने होईन जे गर्नुछ स्वदेशमा । भए मिठो नभए पिठो । ‘ यस्तै यस्तै । मसँगै अनि म पछि ती मित्रहरुका समुह पनि फर्किए । यो कुरा थाहै थिएन । २ महिनाको समयबाट विद्युतीय ठेगानामा भेटिएका मित्रहरुका शब्दबाट म चकित भएँ । स्वदेशमा २ महिना पनि नबिताएर फेरि विदेश पसिसकेका थिए उनीहरु । ‘के गर्नु स्वदेश त खतम भईसकेछ । केही गर्न सकिएला जस्तो छैन । म त फर्किए । ‘उस्तै मित्रहरुका भीडमा शहरमा भेटिएका एक ‘ज्ञानी ‘ मित्रपनि उड्ने खबर नदिई विदेश गईसकेका छन् । यहाँको ‘वागमती ‘ उसलाई पुगेन रे । उसलाई ‘सम्रुन्द्र’ चाहियो रे । शुभकामना ‘समुन्द्र’ खोज्ने र पाउने तरखरमा रहेका मित्रलाई ।
दिनहरु लगातार ढल्ने क्रमसँगै उतै रहँदा पनि नभेटिएका एक अपरिचित मित्र प्रेम लामाबाट कोसेलीका पोल्टा पाँए । उनले आफ्नो भनेर पठाएका रहेछन् । यो खुशीलाग्दो कुरालाई मनमा बसाएर राखेको छु । उता यही प्राप्त कथासँगै जोडिएका नमिठा कथा पनि छन् । आफु स्वदेश फर्किनु अघि केही ज्यादा सामान सकुशल स्वदेश पुर्याउने जिम्मा लिएका मित्रहरु फरार भए । कैयौपटक सम्पर्क गर्दा पनि सुखद जवाफ फर्काउन सकेनन् । कस्तो अचम्म जुन मेरा हुन् त्यो ल्याईएन वा आईपुगेन । अनि जस्को कुनै खबर थिएन कोसेलीका रुपमा आईपुगे । अनि उतै बाँकी रहेका अझै सामानहरु भने ठेगान छैन । मैलै माया मारिसकेको छु । मलाई त्यो आशा पनि रहेन । तर मेरो पुस्तक प्रकाशनको लागि मद्धारा लिखित संस्मरण र कविताको पाण्डुलिपिभने प्रत्येक पटक याद आईरहन्छ । दुई्र बसन्तमा लेखिएका आठ दर्जन कविता, गजल अनि संस्मरणहरुको एक्लोपन आभाष गरेर म छटपटिरहेको छु ।
त्यसभन्दा बाहेक मेरो विदेश बँसाईका सम्झनाहरुलाई खासै उनेको छैन । तरपनि विदेश बँसाईमा घुलमिल भएका मित्रहरु बाध्यताले बिसर्िन पुगॆको छु । यद्धपी लाखौ नेपालीहरुमा खबर सन्देशको जिम्मा पाएका दिपक पौडैल, मरुभुमिमा शब्दभाव पोखिरहेका भानु सुनुवार , सम्मान समर्पित गर्ने प्रेम लामा अनि साथमा श्याम सुन्दर शशि, अलीमुद्दिन मियाँ अनि शहर बँसाईमा के कस्तो छ भनेर खबर जान्न फोनमा कमाई खर्चिरहेका मोहन खड्की, विष्णु दुवेदी, विकास थापा , केशव देवकोटा र धर्म चौधरी लगायतलाई शहरको यो सयदिनको संध्यामा स्मरण गरिरहेको छु । आक्कलझुक्कल विद्युतीय सम्बादमा आउने दर्शनभेटको मुडमा बोल्ने विदेश बँसाई मित्रहरु पनि सयौ छन् उनीहरुलाई यही मौकामा सम्झिरहेको छु । यही सयदिन पुगेको अवसरमा हिजैमात्र मित्र स्रंजालको पन्ना Face Book ऐतिहासिक तस्वीरहरु साँचेको छु ।
यो भन्दा बाहेक विदेशको अरु सम्झनाहरु आएका छैनन् । यही स्वदेशमा केही गर्छु भनेर आत्मविश्वास लिएर फर्किएको यो मनलाई सकुशल बनाईरहेको छु । कहिलेकाँही अचानक यो व्याकूल बन्छ फेरि पलायनको निष्कर्षमा पुग्न खोज्छ । तरपनि थाम्दै आएको छु यही केही गर्न सक्छु र केही गर्नुपर्छ भनेर । यो आत्मविश्वास पनि अहिले सयदिनमा उभिएको छ । हेरौ भोलीको बिहानीले कति उज्यालो आभाष गराउँछ । जे जस्तो अवस्थामा पनि म देश छोड्न चाहन्न । यदि ‘पैसा’ ठूलो र सर्बपरि मानेको भए, म किन स्वदेश फर्किन्थे र ? उतै हजारका हातीका बिटा कमाएर बस्थे नी । यता स्वदेशमा अर्के मजा छ । पैसाले किन्न नसक्ने मेरा दुई बिरुवा छन् अनि स्याहार लागि कुशल माली । यही मेरो सन्तुष्टी र प्राथमिकता हो ।
शहरका अधिकरण भएका समस्या यही मात्रै होईन । यहाँ बती, पानी र शहरका जीवनमा अरु थप दर्जनौ समस्याहरु छन् । त्यही समस्याहरुका प्रत्येक समस्यामा अलमलिएर सक्दो समाधान खोज्ने प्रयत्नमा शहरका मान्छेहरु बाँच्ने कोशिस गरिरहेका छन् अर्थात बाँचिरहेका छन् । जो बाँच्न सकेका छैनन् अर्थात शहरका आकाशे फमाईसमा रम्न सकेका छैनन् । उनीहरुको गतब्य बनेको छ विदेश पलायन । यो जारी छ किनभने राजनीतिक अस्थिरता र देश संकटबाट उनीहरु जकडिएका छन् । देशमा चुलिएको बेरोजगार रोग झनै जटिल बनेको छ । कोही कतैपनि राम्रो काम गर्छु भनेर आफुलाई संलग्न गराउन सकेका छैनन् । कति शहरको अवस्थाबाट हारेका छन् यद्धपी शहरका कतिपय दृश्यहरुले बेरोजगारको महसुस गर्न पाईन्न । सबै शानले हिडेका छन् । मोटरसाईकल चढिरहेका छन् । अनि बेरोजगार भनिएकाहरु प्रेमिकासँग भेटघाट झन् गाढा बनाएका छन् ।
यही सयदिन भित्रै हो मैलै कति मित्रहरुबाट सन्देश पाएको छु । ‘स्वदेश फर्किएर के गर्नु केही छैन त्यहाँ । देश फर्किएर के गर्नु । देश खतम भएको छ । ‘मित्रहरुका विदेश बँसाई अनि देशप्रतिको यो भनाईले सारै दुख लाग्छ । यद्दपी यो भनाई कताकता गलत नलागेपनि देशलाई चाहिने परिवर्तन कसले गर्छ त । कोही मित्र भने बिदेशमा बसेर लेख्दैछन् । ‘अब परिवर्तन चाहिन्छ । देशलाई बदल्नुछ ।’ तर के युवापुस्ता र जागरुक गराउने मान्छे बाहिर बसेर बिगुल फुक्न मिल्छ र ? र्मैर्लै उनीहरुलाई जवाफ फर्काएको छु । ‘विदेश बसेर देशमा परिवर्तन सम्भव छ र ?’ त्यो बेला देखि त्यो मित्रले मसँग सम्बाद गर्न छोडेको छ ।
यहाँ शहरको सयदिन यति चाँडै बितेछ पतै पाईन । यो शहरको गतिसँगै बहेको थाहै पाईन । यी दिनहरुका बिचमा म धार्मिकस्थलहरु पुगेको छु अझै बाँकी छन् कतिस्थान जहाँ समयको बेमेल तालले पुग्न भ्याएको छैन । पुग्न पाएको धार्मिकस्थलहरुमा स्वयम्भु , नारायण थान आदि छन् । म निकैपटक र धैरैचोटि पारिवारिक भेटघाट र जमघटमा अलमलिए । यो दुई बसन्तको कुरो थियो बिछोडका घाउहरु मनमा थिए त्यही भएर यसमा बढी समय अल्झिन पुगे । यी समयविशेष हर व्यस्ततामा एउटै कारण के पनि हो भने दुई सालको समयले कति भिन्नता ल्याएको छ । म निष्कर्ष पुगे केही पनि वा रतिभरपनि फरकता पाउन सकिन ।
दुईवर्ष बिछोडको पतझरहरु हरभरा बनाउन हरियाली क्षेत्रहरुमा समेत भ्रमण गरे । ललितपुर बागडोल क्षेत्रमा मात्र आधा दर्जन पटक पुगेको छु । परिवेशका कुरा यतिमात्रै होईन म फर्किए लगतै होलीका रंगहरुमा खुल्ला भएर रंगिए, शिवरात्रीमय पशुपतिनाथको माहौलमा समर्पित भएँ । साथमा विशेष कार्यक्रमहरुमा सहभागिता जनाए ।
शहर उही, शहरका स्थान उही र मान्छेहरु झन् उस्तै । फेरि अर्का दुखद पक्ष के पनि छ भने यो शहरमा स्वर्ण बँसाई पुग्दा समेत कतिपय मित्रहरु भेट्न सकिएको छैन वा समय जुरेको छैन । जो जो भेटिए उनीहरुसँग पुरानै आत्मियता पनि साटे । रामकृष्ण कर्माचार्यका कैयौ जारी सल्लाहहरु, दामोदर नेपालका दमदार मित्रता, भानु बोखिमका भावात्मक सम्बन्ध, गोपाल बाटालाका गहकिला कुराहरु, कमल कोईरालाका शब्द आश्चर्य, मदनसरको आकासिएको आत्मविश्वास, दिपक कार्कीको दुरदर्शी विचारधारा र दिनेश रिजालका अग्रगामी पदचापहरु आदि । फेरि एकाधलाई छोडेर मित्रहरु भेट्ने प्रयासमा जाँदा भेट्न नपाएको दुख पनि छ । हुनपनि विदेशबाट फर्किनु अघि सक्दो सबै मित्रहरुलाई सम्झेको थिए । उतै रहँदा अन्तिम पटक लेखिएको अब फर्किन्न म शीर्षकको लेख साक्षी बनेको छ । फर्किएपछि सक्दो मायाको चिनो समेटेर ल्याएको थिए । फेरि मित्रहरु बढी पत्रकारिता र लेखनतिर भएकोले कलम सही चिनो मानेको थिए । साथमा केही मुख मिठाईका चकलेटहरु । जसलाई सोचेर ल्याएको थिए ती मित्रहरुले त्यो पाउन सकेका छैनन् भने जो श्रेणीमा परेका छैनन् उसले त्यो मायाको चिनो पाएका छन् । त्यो बेला मलाई लागेको थियो देने से बढता है घटता कुछ नही ।
पुरानो दोस्ती त छदैथियो । अहिले शहरमा पसेपछि धैरै नयाँ चिनिने र परिचित हुने मौका मिलेको छ । शहरबाट शब्दहरुको सानो थलोबाट परिचित भएका मित्रहरु पनि दर्जनौ भन्दा नाघिसकेका छन् । आत्माबाट लेख्ने अमात्य मित्र, मनका कुरा लेख्ने मिलन, भुटानी स्थानान्तरण अमेरिका बस्तीबाट शब्द प्रकाश छर्ने प्रकाश, समिश्रण सोचका धनी धुब्र अधिकारी र प्रत्येक प्रयासमा पारगंत प्रशान्त श्रेष्ठ आदि ।
शहरमा १ सय दिनमा खासै आम्दानीतर्फ ध्यान गएन । जे जस्तो आफुले गर्न सकिन्छ त्यसलाई परिस्कृत तरिकाले शुरु गरेको छु मात्र । यो नै मेरो प्रगति हो जस्तो लाग्छ । मैलै माथि लेखिसके यदि पैसा नै ठुलो लाग्थ्यो त म किन स्वदेश फर्किन्थे । यहाँ समाजमा कमाएको केही नामले कति आनन्द मिल्छ । एउटा विचार र लेखले कसैले राम्रो बोलिदिदाँँ मन कति हर्षित हुन्छ । यही बलिया आधारहरु थिए मेरो स्वदेश फर्काईमा । आज फर्किएको सयदिनमा पनि यही प्रयत्न गरिरहेको छु बश । शहरको सयदिनको बँस्ााईमा फेरिपनि उद्घोष गरिरहेको छु । म अँध्यारो देशमा उज्यालो खोजिरहेको छु । विश्वस्त छ शहरमा उज्यालो पक्कै आउँछ र मेरो विदेश पलायनको अँध्यारो र नकारात्मक सोचलाई ढाकिदिनेछ । यही नै बनेको छ मेरो शहरमा सयदिनको कथा अर्थात शहरमा स्वर्ण बँसाई ।
अस्तु

मित्रहरुका सुझाव