जहीँतहीँ ठगिनु नेपालीकै भाग्य

मध्यान्हको समयमा महेन्द्रनगर पुगेँ । राजधानीबाट अघिल्लोदिन ४ बजेबाट हुँइकिएको बस बल्ल रोकियो । झण्डै २० घण्टे यात्रामा अनेक बाटा र गाउँबस्ती नियाल्दै आयौं । मध्यरातमा परासीभन्दा केहीपर दलदलेमा खाना खाएका थियौ । निकै उग्र गर्मीका कारण ज्यान शिथिल र पसिनाको मापन गर्न सकेनौं । अकस्मात्को यो भ्रमण र लामो यात्रालाई उत्साहित हुँदै अंगालेको छु । योजना मुताबिक महेन्द्रनगर पुगेकै दिन नेपाल छोड्ने कुरो थियो ।

महेन्द्रनगरसम्म आउने क्रममा नेपाल सेनाका जवानको ठाउँ–ठाउँमा सुरक्षाजाँचले हैरानी बनाएको थियो । कारण ‘आएजस्तो गर्नु, सोधे जस्तो गर्नु र सामान हल्का अनुमानमा छाम्नु र जानु ।’ ट्राफिकको कुरै नगरौ । खाना खाने ठाउँमा बस चालकहरूका गुनासो सुन्ने हो भने, ‘राजमार्गमा खटिने सबै ट्राफिकहरू निलम्बित हुनेछन् । तर यसको भित्री जाँच कसले गर्छ ?’ ‘राजमार्गका राजा’ नुवारण गरिएका छन् ट्राफिकहरू । यता मुख्य बस्तीहरूमा ठूला एउटा बाँस उठाएर शुल्क उठाउनेहरूका चर्तिकला उस्तै । माओवादीको झण्डा र नारामात्रै देखिने शुल्क उठाउनेहरूका ‘क्याम्प’मा कतिले रसिद दिँदैनन् । ‘यो खुल्लेआम ठगी हो,’ गाडी चालक भन्छन्, ‘कमजोर देशको ठूला ठगी शैली खुल्लेआम हुँदा कसले ध्यान देला ?’

महेन्द्रनगरस्थित न्यू एपी गेष्ट हाउसभित्र चिसो मौसममा रमायौं । परिचितकै होटेल भएकोले धेरैबेर गफियौं पनि । महेन्द्रनगरको सुरक्षा सम्हाल्न प्रहरी उपरिक्षक सुवाश चौधरी आएका रहेछन् । उनै चौधरी हुन् जसले ललितपुरतिर आउने चाजोपाँजो मिलिसक्दा पनि ‘यस्तोमा के बस्ने’ भनेर अन्तिमपटक निर्णय फेरेका थिए । ललितपुरका धेरैले चौधरीलाई चिन्दा रहेछन् । उनी आउनु पूर्व धेरैले प्रहरी उपरीक्षक चौधरीलाई बधाई दिन समेत भ्याएका थिए । यता एपी हाउसका सञ्चालक थिए उत्कृष्ट भलिबल खेलाडी । हाल राजधानीबाट पलायन हुँदै होटेल व्यवसाय गरिरहेका छन् धन सिंह र तेज सिंहद्धय । वहाँहरूकै होटेलमा चिसो पियौं, धन्न बाहिर गर्मीको माहौल थाम्न साध्यनै थिएन ।

टाँगा चढ्यौं । टाँगा तान्ने बहादुरको नाम ‘बादल’ । टाँगावालाले दैनिक एकपटक आवतजावत गर्दा रहेछन् नाका । अझ उनले १२ बजेपछि मात्रै भारत प्रवेश गर्न बताउँदै घण्टौ हाम्रो यात्रालाई ढिलो बनाए । ढिलै भएपनि टाँगा अघि बढ्यो । गड्डाचौकी छिचोल्दै पार गर्न क्रममा भारतीय प्रहरीको उपस्थिती नेपालकै नाकामा देखियो । कति मिचेका यिनीहरूले ? भारतमा एक दशकदेखि कार्यरत भरत नेपाली हामीसँगै थिए । उनको यो बोली हरेक नेपालीलाई चसक्क बिझ्नु स्वाभाविक हो नै । तर माथिल्ला पदका ठूलाले कहिल्यै देख्दैनन् । ५५ वर्षीय उनले भने, ‘हामीलाई अर्काको ठाउँमा हेपिएर कमाउन रहर छैन, बाध्यता छ । देश चलाउनेहरूले यसबारे कहिल्यै सोचेनन् ।’ एसएसबीको सुरक्षा जाँच नेपालकै भूमिमा नै छ । अघि बढ्यौ र भारतीय प्रहरीको दस्ता क्याम्पमा रोकियौं । यही मौकामा आँखाहरू वरिपरि डुल्न थाल्यो । कति बहादुर रहेछन् भारतीय प्रहरीहरू । खुल्लमखुल्ला घुस मागिरहेका छन् । आफ्नै फाईदाका हिसाब राखेरै होला आवतजावत गर्नहरूले पनि दिइरहेका छन् खुसुक्क ।

यही नाकाबाट दैनिक सयौं साइकल र मोटरसाईकल यात्रीहरूका आवतजावत हुने गरेका छन् । जसले दिन मान्दैनन् उनीहरूलाई बढी केरकार गरिन्छ । खुब भित्रिने र बाहिरिनेको भीड देखिन्थ्यो भारतीय प्रहरी क्वार्टरमा । आधाघण्टा बसेपछि मुख्य ढोका खोलिएको खबर आयो । टाँगावालाले टाँगा अघि लगे, फेरि चढ्यौं र भारतीय भूमिमा प्रवेश गर्यौं । बाँध बाँधेको दृश्य हेर्दे बनवासा पुग्यौ । यहाँबाट मध्य दिल्लीलगायत धेरै स्थानमा पुग्न सकिन्छ रेलमार्गहुँदै । यो क्षेत्रबाट भारतको उत्तराखण्ड क्षेत्रको प्रारम्भ हुन्छ । वनवासाका उद्योग वाणिज्य संघका अध्यक्षद्धारा सञ्चालित होटेलमा बस्ने भयौं । पंजाब मुलका उनी अति फराकिला थिए । बजारमा चुनावअघिका पोष्टर र प्रचार अझै हटाईएका थिएनन् । बजारमा नेपालीहरू पसलमा सहयोगी बस्ने गरेका रहेछन् । रात बिताउने होटेलमा समेत नेपालीहरू भाँडा माझ्ने र खाना ल्याउने श्रम गरिरहेका छन् ।

नैनीतालको नजारा

गर्मीले गर्दा निदाउन कठिन । दुई÷तीन पटक विद्युत आपुर्तिका आएको गडबडले खुब आतिनु पथ्र्यौं । पाँच बजे व्युझियौं । बसपार्क पुगेर नैनीतालको गाडी चढ्यौं । बसपार्कमा केहीबेर अलमलिदाँ राजधानीको बागबजार याद आयो । खतिमा भन्ने स्थान र बागबजार ठ्याक्कै उस्तै । व्यापारका शैली, अव्यवस्थित र फोहरका कारण यहाँपनि यस्तै दृश्य कायम । टुकुचा खोलाजस्तै । नेपाली बँसाईको तुलानामा निकै न्यूनस्तर । गाडी गुडेको केहीबेरमा ‘टिकट बोलो’ भन्दै एक जना मेशिनवाला नजिक आए, टिकट दर दुई सय ४९ रूपियाँ भारतीय रकम । लगभग १७० किमीको यात्रा । नैनीतालको यात्रामा धेरै दुश्य साक्षात्कार भयो । सुकुम्बासी नजारा, फोहरको पहाड र अव्यवस्थित चहलपहल क्षेत्र । पाईला पाइला ठग्ने सीप स्वचालित छन् । घरभने भुसका बनेका छन् । अनि सुविधा डिसको । अर्थात हरेकको घरमा टिभीको डिस एन्टिना छ । सुविधालाई अपनाउँदै आएकाहरूको साम्राज्य सितारगंजबाट नैनीताल नपुग्दासम्म देखिन्छ ।

नैनीतालमा सोडा व्यवसाय फस्टाएको छ । यसले सेवाग्राहीलाई ठाडै ठगेका छन् । झरना जस्तै सानो धाराको पानी सिधै थापिन्छ । गिलासमा केही नुन हालिन्छ । बेची हालिन्छ । मूल्य दश रूपैयाँ भारू । नैनीताल पुग्ने मार्गलाई अत्याधिक विकासको स्वरूपमा निर्माण गरिएको नकार्न सकिन्न । तीसवटा पहाडको मध्यभागबाट बनाइएको बाटोबाट यात्रा गर्दै नैनीताल पुगिन्छ । नैनीताल पुग्दै गर्दा यहाँ पहाडका टुप्पामा अत्याधुनिक शैलीमा विद्यालय बनेका छन् । सेन्ट तेरेसा र डन बोस्को यहाँका चर्चित विद्यालय हुन् । यहाँको विद्यालयमा राजधानीका धनाढ्य नेपालीहरूका छोराछोरी पढाएका छन् । नैनीताल ओर्लिन नपाउँदै दशभन्दा बढीले सस्तो मूल्यको होटेल र घुम्ने मार्गको प्रस्ताव ल्याउँछ । यहाँ अलमलियो भने डुबिन्छ भन्ने डर । किनकी अघिल्लो यात्राले यही सिकाएको छ । त्यहाँबाट ‘अपना दोस्त है’ भन्दै भीडबाट पर आएँ र आफै होटेल खोज्न थालें । सिजनको यात्रा भएकाले होटेलको मूल्य पन्ध्र सय भारूभन्दा महंगो थियो ।

सन् १८९१ कुमाऊलाई अल्मोडा र नैनीताल दुई जिल्लामा विभाजन गरिएको थियो । नैनीतालको सम्पूर्ण तालको लम्बाई १५०० मि र चौडाई ५१० छ । तालको गहिराई २६ मि छ । जनुश्रुतिका अनुसार महादेव पत्नी सतीको आँखा यहाँ पतन भएकोले नैनीताल भनिएको हो । हरेक घरधुरीले होटेल व्यवसाय अपनाएका छन् । यसपछि नैनीताल घुम्न डुंगा चढेँ । फेवातालमा अझै निकै विकासको खाँचो रहेछ । समग्र वरिपरिका विकास प्रक्रिया हेरेपछि यस्तै अनुभूति भयो । नैनीताल डाँडाका माथिल्लो भागमा घरका लहरहरू । तालको चौतर्फी घेरिएको सडक र व्यस्त बजार । हजारौंको चहलपहलले यो स्थानलाई अझ प्रख्यात बनाएको छ । डुंगा अघि बढाउने स्थानीय बृद्ध थिए । नैनीतालको डाँडामा जन्मिएका र हुर्किएका । सेतो बाक्लो स्विटर लगाएका उनले ताल घुमाउँदै नैनीतालको महिमा सुनाए । ‘यहाँ वर्षदिन शीतल हुन्छ । चोरी हुँदैन । झगडा हुँदैन ।’ यहाँ डेढ लाखको हाराहारीमा जनसंख्या छ । डाँडैमा चिडियाघर छ । स्नो जोन भन्दै डाँडामा लाखौंको व्यापार गरिरहेका छन् । ताल वरिपरि खाजाघर उत्तिकै फस्टाएको छ । हनुमान मन्दिर, नैनीदेवी मन्दिर र बिशाल मस्जिद यहाँका आकर्षण हुन् । तिब्बेतिन मार्केटमा उत्तिकै भीड । तालको चौतर्फी यस्तो व्यवस्थाले तालको महत्व बढेको हो । यहाँका टुरिष्ट घुमाउन बसेका भारतीय मुलका टुरिष्ट गाईडहरू निकै चलाख छन् । ६ सय भारूमा एक दर्जन स्थान घुमाउँछु भन्दै आधाघण्टामा भ्रमण पुरा गराउँछ । तालहरूको शहर नैनीतालमा गाईडले नैनीतालहुँदै सुखाताल, खुरपाताल देखाउँछ । लभ प्वाईट र सुसाइट प्वाईट भने ढुंगा देखाउँछ । यहीनिर सक्कली बन्दुक र गोलीसहित निशाना लगाउन पाईन्छ । स्नो भ्यू टावर भन्दै डाँडा लग्छ । अनि यसरी पचाउँछ ६ सय । भ्रमणमा लानु अघि घण्टौं लाग्ने र उत्कृष्ट गतव्य भन्दै लोभ्याउँछ । आखिर ठाडै ठग्दा भारतीय भूमिमा को नेपालीले बोल्छ ? कसले झगडा गर्छ ? ‘ठग्यो यार’ भन्दै हिड्नुको अर्का विकल्पै छैन् ।

ताल पुग्ने नाकामा प्रहरी खटिएका छन् । ठग्ने र लुट्नेलाई छुट रहेछ यहाँपनि । ‘प्रहरी तँपाईको साथी’ लेखिएको बोर्ड छ तालको नाकामा । हुनपनि यसैकारण सबैसँग मिलेका हुन् की ? यहाँ नेपालीहरू भारी बोक्ने पेशामा छन् । बझाङ, कालिकोटलगायतका जिल्लाबाट सयौं नेपालीहरू यहाँ छन् । कमाई राम्रो छ । कालीकोटका बलबहादुरले भने, ‘अब बिस्थापित हुँदैछौं ।’ उनको कथन सत्य रहेछ । नैनीतालाम ठूला र साना मालवाहक गाडीमात्रै नभएर ट्रलीको प्रयोगपनि बढ्दो छ । यसकारण अब भारी बोक्नेहरूको आवश्यकता पर्दैन । एउटा पसलेले भने, ‘बहादुरहरू अब चाहिँदैन ।’ हुनपनि सुनिएका कुरा सत्य देखियो । नेपालीहरू हेपिएका छन् । साँच्चैनै अबको केही महिनादिनमा धेरै नेपालीहरूको यो रोजगारीपनि गुम्ने पक्का छ । नेपालीहरू भारी बोक्ने पेशामा रहेर मासिक दशौं हजार भारू कमाउँछन् । अब आधुनिक मेशिनरी भित्रिदैँ गर्दा यो पेशामा श्रम नचाहिएको हो । पहाड फोडेर बाटोका विकासका कारण घर–घरमा गाडी लान सजिलो भएपछि विस्थापितको संकेत देखिएको हो । पसिना पोखेर दुःख गरेर कमाएको पैसा नेपाल ल्याउने क्रममा चोरी हुने र नाकामा लुट्ने समाचार बन्दै आइरहेका पनि छन् ।

नैनीतालको सेरोफेरो घुमेर हल्द्धानी फर्किदै गर्दा ट्याक्सी ड्राइभरले एउटा झुपडी देखाउँदै भने, ‘आपका नेपाली इधर रहेता है ।’ मुखमा तत्काल जवाफ आयो । ‘जिस सडकसे हम लोग जा रहे है, इसमे नेपाली पसिनेभी छुटे है मेरे दोस्त ।’ त्यसपछि नैनीतालबाट फर्किने बाटोभरि उनले बोलेनन् र हल्द्धानीमा पु¥याएर फर्किए । केही नेपालीहरू नैनीतालमा थप बाटो बिस्तारको योजनामा अन्तर्गत निर्माणमा लागेका हु्न् । हल्द्धानीपनि एउटा व्यस्त बस्ती । यहाँ सबै व्यवसायको उत्तिकै चहलपहल । ठूला र सानालाई फरक बजार छन् । दिउँसो सुस्ताएको भीड रातभर भीडभाड हुन्छ । होटेल र फुटपाथ बजारको व्यापार मध्यरातमा चौगुन्ना हुन्छ । यहाँपनि निकै नेपाली युवाहरू कार्यरत छन् । यहाँ भारतीय दैनिक पत्र–पत्रिकाका शाखा कार्यालय छन् । यहाँका धेरै समाचारहरू प्रमुख समाचारका रूपमा छापिन्छन् ।

नेपाली भूमिको महेन्द्रनगर नाका हुँदै बनवासाबाट भारत प्रवेश गर्दा महेन्द्रनगरबाट एकघण्टाको टाँगा यात्रापछि बेलबासा पुगिन्छ, यहीबाट हो उत्तराखण्ड क्षेत्रको साम्राज्य । यही मार्गबाट नेपालीहरू दैनिक साइकल र सवारीसाधनबाट सयौं थरिका सामान ओर्साछन् । नाकाबाट बाहिरिँदा भारतीय प्रहरीले २० भारूदेखि पाँचसय सुटुक्क थाप्छन् । ‘घुस’का रूपमा पैसा सहयोग नगर्नेलाई धेरै समय केरकार गर्छन् । सामान छोड्न समेत मान्दैनन् । पैसा नदिँदा दुःख दिने गरेको स्थानीयहरू बताउँछन् । महेन्द्रनगरतिरका स्थानीयहरू समेतले घरायसी सामान बनबासा पुगेर ल्याउने गरेका छन् ।

’दिने कहाँ नै संकट‘
ग्याँस, पेट्रोल र बिजुलीको समस्याले भारतको उत्तराखण्डमा व्यापक समस्या परेको छ । उत्तराखण्डका दर्जनौ स्थानहरूमा ग्याँसका रित्ता सिलिण्डरको लाईन छन् । पेट्रोल पम्ममा सयौं साधनहरूको लश्कर छन् । चौबिसै घण्टा बिजुलीको उपलब्ध हुनसकेको छैन । १३२ केबी बाँडिएको बिजुलीले धान्न नसक्दा उत्तराखण्डका दर्जनौ क्षेत्रमा बिजुलीको समस्या परेको हो । विद्युत प्राधिकरणले आन्तरिक रूपमा व्यवस्था गर्न नसकेको स्थानीयहरू बताउँछन् ।

शुक्रबार र शनिबारपनि फिडरबाट पर्याप्त बिजुली आपुर्ति नहुँदा दर्जनौ स्थानहरू चौबिसै घण्टा अन्धकार भयो । प्राधिकरणले जनाएअनुसार फीडरको क्षमता ३०० एंपियर भएपनि ओभरलोडिङका कारण ३१२ एंपिएर चलेको छ । यो अंकमा बिजुली आपुर्ति हुने बित्तिकै बिजुली निभ्ने क्रम चलेको हो । शुक्रबार र शनिबार बिजुली नहुँदा स्थानीयहरू दिनभर गर्मीको मारमा परे । यता बिजुली आपुर्ति नहुँदा बिरोध गर्दै लालकुँवाका स्थानीयहरूले प्राधिकरणमा घेराऊ हालेका छन् । प्राधिकरणलाई बिजुलीको माग गर्दै एकसाताको अल्टिमेटम दिएका छन् । बिजुली नदिए आन्दोलनको चेतावनी दिएका छन् । यसैबीच ग्रामीण भेगका भारतीयहरूले अघोषित विद्युत कटौती र लो भोल्टेजको समस्या समाधानमा अटेर गरेको भन्दै प्राधिकरणका प्रमुखलाई घण्टौसम्म घेरे र चर्का नारासमेत लगाएका थिए ।

बिजुलीको समस्या भोग्दै आएको उत्तराखण्डमा पेट्रोलको समस्या झन् बल्झिएको छ । हिन्दुस्तान पेट्रोलियमका पम्पहरूमा पेट्रोल आयात नहुँदा शुक्रबार शहरका दर्जनौ पम्म रित्तै भेट्टियो । पम्पमा निकै लामो लाईन देखिएपनि पेट्रोल नपाएपछि पम्प खोजिरहेका भेटिन्थे भारतीयहरू । यता इन्डियन पेट्रोलियमद्धारा सञ्चालित पम्पमा पेट्रोल उपलब्ध थियो । त्यहाँ पेट्रोलका लागि पुगेका भारतीयहरू घण्टौ कुरे । पेट्रोल पाइएका पम्पबाट उनीहरूले पेट्रोल आपुर्ति बन्द हुने डरले पुरै टयाङ भर्थे । टैंकरको अभाव र नयाँ टेण्डर आह्वानका कारण पेट्रोलको पर्यात्त आपुर्ति नभएको बताईएको छ ।

यता रामनगरतिरका पम्पहरूमा निकैदिनबाट पेट्रोल उपलब्ध छैन । पम्पको अघिकै पसलहरूमा एकसय रूपैयाँ भारतीय दरमा पेट्रोलको खुल्लेआम बिक्री भइरहेका छन् । पसलहरूमा पेप्सी र कोकाकोलाका बोतलमा राखेर बेचिएका हुन् । कालोबजारी गर्नका निम्ति पेट्रोल कसरी उपलब्ध भयो भन्ने प्रश्नमा हल्द्धानीका प्रबन्धक अशोक जोशीले यस विषयमा अनभिज्ञता प्रकट गर्दै भने । यो विषयमा निगरानी र निरिक्षण गरेर कारवाही अघि बढाइनेछ । यता ग्याँसको आपुर्ति नहुँदा बिहारलगायत हल्द्धानी वरिपरिका क्षेत्रका महिलाले व्यस्त रहने सडक घण्टौ अवरोध गरेका छन् । महिनौ दिनबाट आपुर्ति नदिएपछि उपभोक्ताहरूले सडक उत्रिएर विरोध प्रदर्शन गरेका हुन् । रित्ता सिलिण्डरसहित उपभोक्ताहरू अवरोध गरे । महिला अवरोधकर्ताहरूले सवारी चालकहरूमा माथि हातपात समेत गरे । महिनौदेखि ग्याँस उपलब्ध नगराएको विरोधमा उपभोक्ताहरूको अवरोध चलिरहँदा इन्डियन एजेंसीका गाडी पुगे र ग्याँसको वितरण शुरू गरे ।

एजेंसीका प्रबन्धक दयासागरका अनुसार दैनिक दशवटा गाडीमा ग्याँस चाहिएको छ । उनले भने एउटा गाडीको ग्याँसले कतिलाई बितरण गर्ने ? यसैबीच एलपीजी टैंकर चालकहरूको आन्दोलनका कारण ग्याँस वितरणमा समस्या आएको बताइएको छ । यता देशले भोग्दै आएको इन्धन समस्यातर्फ सचेत हुँदै सरकारले आयल निगमलाई बाँकी बक्यौता तिर्ने रकम उपलब्ध गराएपछि देशमा इन्धनको आपुर्ति बढेको निगमले जानकारी दिएको छ ।

मेरो भ्रमणको विषय समाचारनै हो । यसबारे पछिका अंकहरूमा उल्लेख गर्छु । केही रिपोर्ट सिध्याएर नेपाल फर्किने दिन आयो । नेपालीहरू स्वदेश फर्किने बेला नाकाको सम्झनाले झस्किँदा रहेछन् । मलाई पनि यस्तै महसुस भयो । पूर्व भित्रिएको नाकासम्म पुग्न अघिल्लो चरणमा जस्तै बनवासाबाट टाँगा चढ्दै नाका पुगेँ । यो नाकाबाट पाँचसय र हजारका भारतीय नोट ल्याउने नमिल्ने प्रावधान कडारूपमा लागु गरिएको छ ।

अझ अचम्मको कुरो कसैले ल्याएमा त्यहीकै भारतीय प्रहरीले साट्दो रहेछ । अविश्वासनीय कुरो । मैलै हजारको नोट ल्याएको देखाएँ । एकजना प्रहरीले मलाई नछोड्ने भन्दै पैसा माग्न खोजे । मैलै पचास भारू दिए । लिन मानेनन् । उनले मलाई भित्री क्वार्टरमा लगे । मसँगै टाँगावालापनि भित्रै पसे । टाँगावालासँग प्रहरीको राम्रै साँठगाँठ रहेछ । उनीसँग हाँसेर व्यवहार गरेका प्रहरी हाकिमले हिन्दी फिल्मीको शैलीमा पान चपाउँदै भने, ‘क्या हुवा ?’ भन्दै कडा स्वरमा सोधेपछि मैले हल्का हाँस्दै बोले, ‘सलाम साहेब, एक हजारका नोट लेने नही दे जा रहा है । नेपालमै डुव्लिकेट मिलता है, ये ओरजिनल ले जा कर रखुँगा ।’ उनले मानेनन्, ‘ईधर दो ।’ झर्किए र ओल्टाई पोल्टाई गरेर हेर्दे भने, ‘तुमको मे छुट्टा दे दुँगा । फिकर मत करो ।’ पुलिस हाकिमले दाइिने खल्तीबाट दश–दशका बित्ता निकाले र हजार बनाउँदै टेबुलमा राखिदिए । दश–दशका क्याच्याककुच्चुक नोटले झन् शंका थपिदियो । उनले हामीलाई बित्ता बोकाएर आफ्नो खल्ती हलुका पारेका रहेछन्, यही बुझियो । क्वार्टरभित्र वरिपरि नियाले । सिसि क्यामरा थियो तर सञ्चालित थिएन । मलाई भित्र लाने प्रहरीले अनेकपटक ढोकामा हेर्द थिए । निस्किँदै मैले भने, ‘क्या भाइजान, इतनी छोटीसी बातभी आप नही मान रहे । शुक्रिया ।’ मसँगै उनै प्रहरी र टाँगावाला निस्किए ।

प्रहरीको यो सुरक्षा जाँचबाट पार गरेको केही मिनेटमा एसएसबीको अड्डामा टाँगा रोकियो । एसएसबीका जवानले टाँगाका सबैलाई नियाले । झोलातिर आँखा पु¥याए । नेपाली श्रमिकले यहाँनिर पसिनाका केही भाग बुझाउँदै आएका छन् । हामीलाई छोडे । नेपाली भूमिमा टेकेपछि आन्नदित भयो मन । गड्डाचौकी पार गर्न क्रममा टाँगाका लश्कर भेटियो । अब पालो नेपाल प्रहरीको । नेपाल प्रहरीले प्रत्येक टाँगाका सामान खोल्ने र जाँच गरिरहे । टाँगावालाले भने, ‘सब नाटक है, खानेवाला खानेका हजार बात ढुढता है ।’ म उत्रिएँ, प्रहरीले जाँच गरिरहेको टाँगामा पुगेँ । प्रहरी जवानले, ‘यसमा के छ ? त्यसमा के छ ?’ भन्दै सामान खोल्न लगाउँदै थिए । यहाँ नेपाल प्रहरीले पनि सुटुक्क हात थाप्दा रहेछन् । उता भारतीय प्रहरीको दादागिरी र यता नेपाल प्रहरीको हाते जाँच शैलीका कारण उही हो – पैसा । हुन त यसरी आवत जावत गर्न नपरे हुन्छ भनेर सोच्दा हुन् मिहिनेती हातहरू ।

‘दुवैतिर बुझाउनुपर्छ’ साइकलभरि सामान बोक्दै आएका एकले भने, ‘उताबाट उम्कियो यता केरकार । दुवैलाई बुझाएपछि बल्ल व्यापार साकार ।’ हुन त यस्ता शैलीबाट आजित साईकलयात्रीहरूले वर्षाेदेखि यस्तो कारोबार गर्दै आएका छन् । दुश्य नजाराको अपुग रिर्पोटिङ भइरहँदा त्यहीदिन राजधानी फर्किने इर्मेजेन्सी आइलाग्यो । महेन्द्रनगरबाट दिउँसो चारबजे गाडी चढियो । २२ दिनको अखण्ड सूदूर पश्चिमको आन्दोलनले बल्ल खोलेको हुनाले सबै बुक थिए गाडीका सिटहरू । बल्ल बिना एसीको गाडीको पछिल्लो सिट पाइयो ।

काठमाडौंबाट महेन्द्रनगर चल्ने गाडीभाडामा खाना, पानी र पत्रिकाभन्दै एक सय पचास असुल्यो । तर, पत्रिका दिइएन । आखिर ठग्ने प्रवृतिको प्रारम्भ नेपालबाटै भएको रहेछ । मसँगैका सन्तोष दाहालले यात्रा पूर्वको दृश्य स्मरण गराए । गाडी काठमाडौंतिर बढ्यो । रातको दुईबजेतिर बाँकेस्थित स्नेहा होटेलमा खानाको लागि गाडी रोकियो । रोटी खायौं मूल्य एकसय पचास रूपैयाँ । कैही सब्जी, दुईवटा रोटी र दाल । मसँगै वनवासाबाट राजधानी आएका सन्तोष दाहालले भने, ‘भारतमा ठगियौं, अब पालो नेपालमा । ठगोस् ठगोस् । जहाँपनि ठगिनुपर्ने नेपालीकै भाग्य ।’ दाहालले हिन्दी फिल्म नायकको एउटा डाइलग सुनाए, ‘सबके सब मिले हुए है, सबके सब चोर है ।’

यसैबीच, बनवासबाट नैनीतालतिरको यात्राकै दिन भारत र नेपाली पत्रकारबीच अन्र्तक्रिया भयो । भारतीय पत्रकार शिवकुमार गुप्ताका अनुसार दुई देशको सीमा र अन्य संवेदनशील बिषयमा कसरी समाचारहरू प्रेषित गर्ने भन्ने छलफल थियो । यसमा महेन्द्रनगरका चित्राङ थापालगायत भारतीय एक दर्जन पत्रकार सम्मिलित थिए ।

उत्तराखण्डबाट फर्किएर

Explore posts in the same categories: मेरो लेख

ट्यागहरु: ,

You can comment below, or link to this permanent URL from your own site.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: