प्रिय मनविरुद्ध ‘म’हरुको आत्महत्या !

प्रिय मन

याद साँची तड्पी रहन्छु
छायासँगै झस्किरहन्छु
आज फेरि रुन्छु म
किन…किन ?

सम्बोधन धेरैपछि गरिरहेको छु प्रिय मन । यो शहर निष्ठुरी छ । स्वार्थी छ । यसैमा दैनिक अभ्यस्त भइरहँदा तिमीलाई भुलेछु महिनौदिन देखि । मलाई थाहा छ, प्रिय मन । तिमी मसँग छौं र म तिमीसँग । तरपनि जिन्दगीको आरोह अवरोहमा हाम्रो साथ र हातमा न्यानोपन र समर्पणको भावमा डुबिरहँदा तिमीलाई भुसुक्कै भुलेछु प्रिय मन ।

हिजो कार्तिक ४ गते बेलुका तिमीलाई धेरै धेरै सम्झिएँ । प्रिय मनको एक्कासी याद बल्झिएपछि शब्द खर्चिन मन लागेको थियो । तर अवस्थाले यसलाई पूरा हुन दिएन । प्रिय मन, तिमी यति धेरै कठोर र निष्ठुरी कसरी हुनसक्छौं ? यात्राको करिब १५ बसन्त बितिसक्दा प्रेमको मुना कुल्चिएको र मरेको दावी गर्दा मलाई नराम्ररी दुख्यो चसक्क ।

प्रिय मन, जिन्दगीको उद्देश्य जिउनु हो । तर जिउनुको अर्थ एक्लो वा निन्तात एक्लो होइन । कतै मैले सुनेको छु, गुरु श्री श्री श्री रविशंकरले जिउनुको गहिरो अर्थ लगाउँदै भन्नुहुन्छ, ‘सहकार्य, सहयात्रा र संयुक्त खुशीको आनन्द नै जीउनु हो ।’

प्रिय मन, म निकैबेर तिम्रो विगत, वर्तमान र भविष्यको दुःख र सुखको जोडघटाउ गरेर रोएँ । लामो र गहिरो सास लिन्दै विगतलाई सम्झिएँ, र, वर्तमानलाई थामे र भविष्यलाई माथि उठाएँ ।

प्रिय मन, एक्कासी यो हुरीले म उभिएको धरातल त भासियो । मैले शान्त र मौन बसेर थामे । र, मभित्रको अन्तरआत्मामा संचारित भगवान ओशोको शक्तिले मुर्तिझैं स्तब्ध हुँदै बसिरहेँ । म उभिन र फेरि बोल्न र प्रतिरोध जनाउन असम्भव अवस्थामा थिएँ, प्रिय मन ।

प्रिय मन, तिम्रो आक्रोश र आगोलाई मैले सही र सन्तुलन मिलाएर थामेँ । जसरी विष पिउन महादेव तयार भए, मैले पनि आक्रोश र आगोलाई निलकण्ठसरि निर्धक्क पिएँ, पिइरहेँ । हो म चुपचाप बसिरहेँ, माफ गर प्रिय मन ।

प्रिय मन, मैले तिमीसँगको खुशीमा र तिम्रो सामिप्यतामा आफ्नो जीवनको हिसाबकिताब गर्न बिर्सिएको रहेछु । तिम्रै हाँसो र माया अल्झिएर उज्यालो दुनियामा भूलिरहेँ । मलाई कोही कसैको सहकार्यको अभाव भएन । तिमीले निर्माण गरेको एउटा सुन्दर दुनियामा प्रफुल्लित हुँदै दिनहरु बिते, महिना बिते र वर्ष बिते । साँच्चिकै केही पत्तो नै भएन ।

आज ज्वालामुखीझैं विष्फोटको शैलीमा प्रकट भएको प्रश्नले म स्तब्ध र मौन भएँ । आखिर सत्य त सत्य नै हुन्छ । मैले आजसम्म के गरेँ जिन्दगीमा ? प्रिय मनका लागि हरपल समर्पित रहने यो प्रेमीले प्रिय मनलाई आजसम्म के नै दियो ? उफ्, प्रश्नै प्रश्नले म कमजोर हुँदै टुटे रातभर । तरपनि प्रिय मनको अघि एउटा बाघ जस्तै जो जंगल सुरक्षामा बसेको छ, त्यस्तै शैलीमा प्रस्तुत हुँदै आँखा छलेर कमजोर भइरहेँ ।

प्रिय मन, म कुन यात्रामा निस्किएको यात्री हुँ, त्यो पनि महसुस भएन । म बश हिडिरहेँ, गतव्यहिन भएर । प्रिय मन, त्यो तिमीले मलाई हिजोमात्र थाहा दियौं । यात्रामा धेरै रोकावट भयो । बाधा भयो । समाजबाट तिमी हेपियौं । प्रिय मनलाई समाजमा उभिनसक्ने हैसियत मैले खोसेँ । परिवारजनमा म निकम्मा बनेर तिमीलाई दुःख दिइरहेँ । यावंत यस्ता धेरै कारणले प्रिय मनको मनमा नराम्ररी चोट दिएँ । म प्रयत्नशील हुने उर्जा सबै तिम्रै यात्रामा समर्पित भयो । मेरा सोचहरु र केही थोपा पसिनाहरु प्रिय मनकै मार्गमा पोखियो । यस्तै यस्तैमा समय बित्यो ।

म वश एक्लिएँ, हेपिएँ, थिचिएँ र कुल्चिएँ । प्रिय मन, यी सब प्रहारहरु एकाएक हिजो मैमाथि निरन्तर परिरह्यो । म मौन र शान्तभावमा प्रहारहरुसँग हारिरहेँ । आखिर हो पनि, प्रिय मनको प्रश्नमा मेरो कुनै जवाफपनि थिएन ।

प्रिय मन, शब्दहरुमा अबको यात्राका शब्दहरुपनि हामफाल्न खोज्दैछ । तर म रोक्दैछु । विगतका पल, आत्मियता र प्रेमका भावहरु सबै आत्महत्याको प्रयास गरिरहेका छन् । तर प्रिय मनसँगको जीवनभरको गाँठो बाँधिदिने माताहरुको अनुहार अझै चम्किलो र मुस्कानमय देखिरहेको छु । कारण खोतल्न म सक्दिन । यात्रा र जीवनको बारेमा पूरै चिना उहाँहरुकै हातमा छ । यो देखेर म झन अचम्मित बनेको छु । म माताहरुसँग सोध्ने आँट गरिरहेको छु, ‘प्रिय मन र मेरो यो बन्धनमा आएको झट्कामाथि किन यस्तो वेवास्ता ?’

प्रिय मन, म तिम्रै हुँ । र, सदासदा रहिरहनेछु । मभित्रको अन्तरआत्माले तिमीप्रति समर्पित हुँदै अहिले बिदा ।

रुन्छ हिद्धय धेरै, वर्षिन्छ आँसु
टुक्रेको मुटु लिई, कोही त भनिदेऊ
कसरी म हाँसु ?

मात्र तिम्रो, सिर्फ तिम्रो ‘म’

अस्तु
२०७३/०७/०५, शुक्रबार

Explore posts in the same categories: दैनिकी, म र मेरो कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: